लेख रचना/अबको शिक्षा

अबको शिक्षा….

शिक्षा मानव तथा मुलुकको सर्वाङ्गिण विकासको पहिलो खुड्किलो हो भने राष्ट्र निर्माणको आधार पनि हो ।शिक्षाले मानवमा असल भावना र सकारात्मक सोचको विकास गरी मानवलार्इ संघर्षशील,लगनशील, कर्मठ, मेहनती,नैतिकवान र जिम्मेवार बनाउने गर्दछ । किताबी सिकार्इ हाशिल गर्नु वा परीक्षा उतिर्ण गरी उपाधी हाशिल गर्नु मात्र शिक्षा होर्इन । प्रकृतिको अनुपम सौन्दर्यतालार्इ नियाल्नु, समाज र सामाजिक जीवनलार्इ अनुभूत गर्नु, पृथ्वीमा बस्ने हरेक जीवको अस्तित्वलार्इ स्वीकार्न सिक्नु पनि शिक्षा हो । अझ भनौ आफुले आफ्नो जीवनलार्इ बुझि आफू र समग्र विश्वका लागि के सहि र के गलत छुट्याउन सक्नु नै शिक्षा हो । शिक्षा त्यस्तो चिज हो जसले हामी भित्र लुकेको विवेकलार्इ खोल्दछ रहामीलार्इ देश, समाज, अर्थतन्त्र, प्रकृति लगायतका विषयमा आफ्ना स्पष्ट धारणा राख्न सक्ने बनाउँदछ ।शिक्षाले नै मानवलार्इ सृजनशील बनाउँदै आधुनिक विज्ञानका खोज, अनुसन्धान र प्रयोग गर्न सक्ने बनाएको छ भने यसले नै मानिसलार्इ सामाजिक प्राणीको रुपमा स्थापित गरेको छ । मानवको आर्थिक, सामाजिक, भौतिकतथानैतिक पक्षसँग जोडिएको शिक्षालार्इ व्यवहारिक र समयसापेक्ष बनाउन नसक्दा आज हाम्रा विद्यालय तथा विश्वविद्यालयहरु बर्षेनी लाखौ बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । भविष्यप्रतिको सोच बिनाको मूनाफा केन्द्रित शिक्षाले गर्दा मानिस आज प्रकृतिको भक्षकको रुपमा देखिएको छ भने आफ्ना मूल्य, मान्यता, धर्म, संस्कृति र नैतिक आचरणलार्इ तिलान्जली दिँदैमानवले मुलुक र समाज प्रतिको दायित्व समेत भुलेको छ। यि समष्टिगत विषयलार्इ दृष्टिगत गर्ने हो भने अबको हाम्रो शिक्षाले हामीले अपनाउदै आएको शिक्षा प्रणाली भन्दा पृथक प्रणाली खोजेको आभास हुन थालेको छ । त्यसैले अबको शिक्षा प्रणाली निम्न बमोजिमको हुनुपर्ने देखिन्छ ।

१. व्यावसायिक तथा रोजगारमूलक शिक्षा

सर्व विदितै छ, हाम्रा विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरु व्यावहारिक कम र सैद्धान्तिक बढी छन् जसले गर्दा विद्यालय, विश्वविद्यालयमा उच्च अंक प्राप्त गरी उतिर्णहुनेहरुमा सिद्धान्त र किताबी ज्ञान बाहेक व्यावहारिक ज्ञान प्राय न्युन देखिन्छ ।अल्वर्ट आर्इसटाइनका सापेक्षतावादको सिद्धान्त, माल्थसको जनसंख्याको सिद्धान्त, किन्सको अर्थशास्त्र सम्बन्धी सिद्धान्त र यस्तै अन्य सिद्धान्त घोकार्इने शिक्षाले हामीमा केहि ज्ञान त आर्जन भएकै होला तर यसको व्यवहारिक प्रयोग गर्न नसिकार्इदा हामीले प्राप्त गरेको त्यो सैद्धान्तिक ज्ञान अपूर्ण बन्न पुगेको छ । जबसम्म हामीले देश, काल र परिवेश सुहाउँदो स्वरोजगारीमुखी शिक्षा पद्धतिको अवलम्वन गर्न सक्दैनौ तबसम्म हाम्रा विश्वविद्यायलहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र हुने निश्चित छ । हाम्रो अहिलेको शिक्षाले शैक्षिक योग्यताका प्रमाणपत्रहरु हातमा बोकेर जागिर खोज्दै काठमाण्डौलगायतका शहरमा गल्ली गल्ली भौतारिने तथा हातमा पासपोर्ट बोकेर युरोप, अमेरिका, अष्ट्रेलिया अध्ययनको सपना बुन्ने व्यक्तिको उत्पादन मात्र गरेको छ भन्दा अत्योक्ति नहोला । त्यसैले अबको शिक्षा भनेको व्यावसायिक र रोजगारमूलक हुनुपर्दछ । अबको शिक्षाले देश, काल र परिवेशको सम्बोधन गर्दै विकासका सम्भावनालार्इ उजागर गर्न सक्नुपर्दछ। देशको कृषि, पर्यटन, जलस्रोत, जडिबुटी, वनजंगल र यहाँको कला संस्कृति तथा इतिहास सम्बन्धि ज्ञान भर्ने र यसको महत्तम रुपमा उपयोग गर्न सक्ने शिक्षा नै नेपालको माटो सुहाँउदो शिक्षा हो यसले नै हामीमा विद्यमान बेरोजगारी समस्याको समाधान गर्न सक्छ र समृद्ध नेपालको सपना पुरा गर्न सक्छ ।

२. प्रकृतिप्रेमी शिक्षा

वर्तमान विश्व परिवेशमा देखिएको कोरोना अर्थात कोभिड-१९ को महामारी, जलवायु परिवर्तन लगायत अन्य प्राकृतिक प्रकोपले मानव जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ जुन अवस्था आउनुको प्रमुख कारण भनेकै पृथ्वीलार्इ मानिसले आफ्नो अनुकुल प्रयोग गर्नु र आफू मातहत नियन्त्रण लिन खोज्नु नै हो जुन कुरा हामीले आर्जन गरेको शिक्षाबाट नै अनुग्रहित छ । आजको विश्व आफु अनुकुलको वस्तु तथा सेवा उत्पादनको लागि एक अर्काबीचमा प्रतिस्पर्धाको होडमा छ । प्रकृतिमाथि निर्मम प्रहार गरेर नै किन नहोस मानिस आफू जित्न र अरु समक्ष आफूलार्इ अब्बल देखाउन उद्धत छ जुन हाम्रो मानिस मात्रको हित सोच्ने शिक्षाबाट निर्देशित छ । वर्तमानको शिक्षा पद्धतिले गर्दा मानिसले पृथ्वी सबैको साझा घर हो, यहाँ जो कोही आफ्नो अनुकुल बाँच्न चाहन्छन भन्ने कुरालार्इ बिर्सेको छ । प्रकृति माथिको क्रुर र निन्दनीय प्रयोगलार्इ नियन्त्रण गरी साझा पृथ्वीको अवधारणालार्इ व्यवहारमा रुपान्तरण गर्न अब हामीले रती पनि ढिला गर्न नहुने देखिएको छ । त्यसैले अबको शिक्षा पद्धति सीपमुलक तथा व्यावसायिक मात्र होर्इन विकास र विज्ञानको उपभोग गर्दा हरेक प्राणीको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको सम्बोधन गर्न सक्ने पनि हुनुपर्दछ । अबको शिक्षाले पृथ्वी सबैको साझा हो यसको उपभोगमा सबैको समान अधिकार हुन्छ भन्ने भावनाको बोध आम मानिसमा गराउनु सक्नुपर्दछ ।प्राकृतिक स्रोतसाधन हाम्रो मात्र नभएर हाम्रो भावी पुस्ताको पनि हो भन्ने भावना जनजनमा पुर्याउन समेत अबको शिक्षा प्रकृति प्रेमी हुनु जरुरी छ ।

३. आत्मानुशासन केन्द्रित शिक्षा

औपचारिक शिक्षाले हामीलार्इ आफू अनुकुलको समय सापेक्ष पेशा वा व्यवसाय प्राप्त गर्न तथा उद्यमशीलता र सिर्जनशिलता प्रवर्द्धन गर्न मद्धत गर्दछ जुन जीवनको अपरिहार्यता पनि हो । तर मानिसलार्इ सदाचारी, नैतिकवान र मूल्यवान बनाउने भनेको आत्म अनुशासन केन्द्रित शिक्षाले नै हो । जबसम्म मानिस सदाचारी र नैतिकवान हुन सक्दैन तबसम्म मानिसले देश र समाजको हित केन्द्रित कार्य गर्न सक्दैन । व्यावसायमूखि र मूनाफा केन्द्रित शिक्षाले गर्दा हामीमा नैतिकता हराएको छ, हामी आँफै आफ्नै संस्कृतिलार्इ समाप्त पारी नयाँ संस्कृतिको अनुसरण गर्न उद्धत छौ । जसले गर्दा हाम्रा पूर्वीय दर्शनका सिद्धान्तहरु ओझेलमा परेका छन् । हाम्रो खानपान, हिडार्इ, बोलार्इ, गरार्इ सबैमा पश्चिमिकरण भएको छ । हामीमा मानवता हराएको छ, नैतिकता हराएको छ, हामी नास्तिक भएका छौ, पैसामा तौलिन सकिने भएका छौ । भ्रष्टाचार, गालि गलौच, मान मर्यादाको उपेक्षा हाम्रा पर्याबाची बन्न पुगेका छन्। त्यसैले अबको हाम्रो शिक्षा डाक्टर, ईञ्जिनियर, पाइलट, बैंकरस् जस्ता जनशक्ति उत्पादन गर्ने रोजगारमुखी शिक्षा मात्र नभर्इ आत्मानुशासन केन्द्रित पनि हुनु जरुरी छ । आधुनिकताको नाममा शिक्षालार्इ पेशामूलक वा व्यावसायकमूलक मात्र नबनार्इ अबको शिक्षा मानवतामूखी र अनुशासनमूखी समेत हुनु जरुरी छ जसबाट मात्र सभ्य मुलुकको निर्माण हुन सक्दछ । अधिकारको प्रयोग गर्दा देश र समाजप्रतिको दायित्वलार्इ समेत ख्याल गर्न सक्ने जनशक्ति उत्पादन उन्मुख शिक्षा नै  आजको आवश्यकता हो, जुन आत्मअनुशासन केन्द्रित शिक्षाबाट मात्र सम्भव छ ।

४. सूचना प्रविधिमैत्री शिक्षा

वर्तमान विश्व आधुनिकता र नविनतामा रमाउने व्यक्तिहरुको हो । विश्वव्यापिरकण र उदारिकरणलार्इ आत्मसाथ गरिसकेका हाम्रो मुलुक सूचना प्रविधिबाट विमुख रहन सक्दैन । विश्व बजारमा उत्पादित वस्तु तथा सेवाको उपभोग गर्न होस् वा आफ्नो उत्पादनलार्इ विश्व बजारमा पुर्याउन दुवैको लागि हामीलार्इ सूचना प्रविधिको आवश्यकता महशुस हुन थालेको छ । शिक्षा,स्वास्थ जस्ता मानवसँग प्रत्यक्षरुपमा जोडिने पूर्वाधारहरु प्रविधि बिना अपूर्ण हुन थालेका छन् भने विश्वव्यापिरुपमा अगाडी आर्इरहेको विद्युतीय शासन अर्थात र्इ गर्भनेन्स,भर्चुअल गर्भनेन्स लगायतले पनि सूचना प्रविधिको आवश्यकतालार्इ थप उजागर गरेको छ ।राज्य प्रदत सेवाको व्यवस्थापन,विकास व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन, अभिलेख व्यवस्थापन लगायतका सम्पूर्ण व्यवस्थापकीय पक्षमा सूचना प्रविधिको प्रयोग अनिवार्य हुँदै गएको छ ।   त्यसैले अबको शिक्षा प्रविधिमा आधारित हुनु जरुरी छ जसका लागि विद्यालय देखि नै सूचना प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने देखिन्छ भने आम जनमानसमा सूचना प्रविधि के हो र यसले के के सम्मका कार्यहरु गर्न सक्दछ भन्ने चेतनाको विकास गर्नुपर्ने देखिन्छ जसबाट मात्र डिजिटल नेपाल मुलुक बनाउने अभिलाषाले सार्थकता पाउने देखिन्छ ।

अर्को तर्फ कोभिड-१९ सँगै विश्वव्यापीरुपमा बन्द हुन पुगेका शैक्षिक संस्थाहरु र यसबाट शिक्षा क्षेत्रमा परेको असरले पनि शिक्षा प्रणालीमा आधुनिकता र नवीनतासँगै डिजिटलार्इजेसनको मार्ग खोजेको छ । यसको उदाहरणको लागि विश्वका अधिकांश मुलुकले सुरु गरेको डिजिटल शिक्षा अर्थात दुर शिक्षालार्इ लिन सकिन्छ जसको प्रभावबाट नेपाल समेत अछुतो छैन । नेपालमा पनि केही विद्यालय तथा विश्वविद्यालयले रेडियो, टेलिभिजन वा इन्टरनेटको प्रयोग मार्फत अनलार्इन शिक्षालार्इ अवलम्वन गरेका छन् तथापि सीमान्तकृत, विपन्न र दूरदराजका बालबालिका लागि भने यो फलामको चिउरा जस्तो हुन पुगेको छ । जसको एउटै समाधान भनेको सूचना प्रविधिको सन्तुलित,समन्यायिक र तिव्र विकास मार्फत समाजमा देखिएको डिजिटल डिभाइडको अन्त्य गर्नु नै हो ।

५. राष्ट्रप्रेमी र समावेशी शिक्षा

अबको शिक्षाको अर्को महत्वपूर्ण पक्ष भनेको राष्ट्रप्रेम र समावेशितामा आधारित शिक्षा हो । आजको विश्व नाफामूखी र स्वार्थ केन्द्रित बन्दै गएको छ । राजनीतिज्ञ, प्रशासक, निजी क्षेत्र वा नागरिक जो कोही हुन् सबै राष्ट्र प्रतिको आफ्नो जिम्मेवारी र जवाफदेहिता बहनमा चुकेका छन्, सबैमा सदाचारिता र नैतिकता हराएको आभास हुन थालेको छ जसको एउटै कारण हो हामीले अवलम्वन गरिराखेको शिक्षा प्रणाली । सामाजिक मर्यादा निर्धारणको आधार चल र अचल सम्पत्ति वा सामाजिक रवाफ बनाउने शिक्षा जबसम्म रहन्छ तबसम्म हामो राष्ट्रवाद नाम मात्र को हुने कुरामा दुर्इ मत नहोला । अर्को तर्फ शिक्षामा निजीकरणको नाममा गरिएको व्यापारीकरणले शिक्षालार्इ सेवामूखी कम र व्यापारमुखी बढी बनाएको अनेकौ दृष्टान्त हामीसँग छदैछन् । समाजका सम्पन्न व्यक्तिले आफ्ना सन्ततिलार्इ महंगा र गुणस्तरीय शिक्षण संस्थामा अध्ययन गराउने र गरिब,विपन्न र सीमान्तकृत वर्गका छोराछोरीले विद्यालय जानबाट समेत बञ्जित हुनुपर्ने अवस्था हामी माझ प्रष्टै छ । यसले हाम्रो समाजमा तत्काल देखिएको आर्थिक सामाजिक असमानतालार्इ दीर्घकालसम्म कायम नै राख्ने प्राय: निश्चित छ । त्यसैले अबको हाम्रो शिक्षा राष्ट्रप्रेम प्रवर्द्धनमा केन्द्रित हुनु जरुरी छ । समाजमा देखिएको असमानता, दमन, शोषण र अत्याचारको अन्त गरी समाजलार्इ राष्ट्रिय विकासको मूल प्रवाहमा साझेदारियुक्त तरिकाले समाहित गरी समावेशीकरणको पथमा डोर्याउन सक्ने शिक्षा नै आजको टड्कारो आवश्यकता हो जसका लागि नैतिक शिक्षा सम्बन्धी विषयलार्इ विद्यालय देखि विश्वविद्यालयका हरेक तहमा अनिवार्य गर्नु जरुरी छ ।

अन्तमा, शिक्षालार्इ हामी जति पेशामुखी वा व्यावसायमूखी बनाउन खोज्दछौ त्यति नै रुपमा यसलार्इ मानवता उन्मुख,संस्कारमूखी, अनुशासन केन्द्रीत र प्रकृतिमैत्री पनि बनाउनु जरुरी छ । डिजिटल वा प्रत्यक्ष जस्तो सुकै माध्यमबाट शिक्षा प्रदान गरिएता पनि अबको शिक्षा प्रणाली र यसले उत्पादन गर्ने जनशक्तिलार्इ देश र माटो सुहाँउदो बनाउँदै राष्ट्रप्रेममा विश्वास गर्ने तथा समावेशितालार्इ सहर्ष स्वीकार्ने बनाउनु अत्यन्तै आवश्यक छ । अनुशासन केन्द्रित, व्यावसायिक र प्रविधिमा आधारित शिक्षा नै सभ्य,समुन्नत, समृद्ध र न्यायपूर्ण मुलुक निर्माणको आधार हो जसका लागि तीनै तहका सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकायहरु बीचमा सहकार्य र समन्वयको अपरिहार्यता रहेको छ ।

 

 


Comments

Popular posts from this blog

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार

शासनको अवधारणा (प्रकाश दाहाल - सहसचिव नेपाल सरकार)

सामाजिक द्वन्द्व व्यवस्थापनका उपायहरु