कर्मचारीतन्त्रमा लालफित्ताशाही र यसको सुधारको उपाय

कर्मचारीतन्त्रमा लालफित्ताशाही (Red Tapism in Bureaucracy)

  • लालफित्ताशाही अर्थात Red tape को शाब्दिक अर्थ रातो फिताले फाईल बाधेर थन्क्याउने र हतपत्त त्यसलाई नखोल्ने भन्ने हुन्छ । यो कर्मचारीतन्त्रमा रहेको विकृति हो ।
  • Red tape शब्दको उत्पत्ति १६ औ शताब्दी तिर स्पेनिस प्रशासनबाट भएको पाईन्छ । उक्त समयमा स्पेनिस राजा चाल्स भि ले आफ्नो विशाल राज्य चलाई रहेको प्रशासनलाई आधुनिकीकरण गर्न Red tape शब्दको प्रयोग गरेका थिए । (कुलचन्द्र पराजुली)
  • कर्मचारीमा लालफित्ताशाही भन्नाले नतिजाभन्दा प्रक्रियालाई महत्व दिने, कार्यसम्पादन गर्न नियम कानूनले दिएन भनि पन्छाउने, छिटो छरितो रुपमा कार्यसम्पादन गर्न अस्वीकार गर्ने, सेवाग्राहीको उपेक्षा गर्ने तथा विवेकको न्यून प्रयोग गर्ने प्रवृत्तिलाई जनाउँदछ ।
  • नागरिकको हकहित प्रतिको उपेक्षा गर्ने प्रक्रियामूखी कार्यशैली भएको सुस्त प्रकृतिको कर्मचारीतन्त्रलाई नै लालफित्ताशाही कर्मचारीतन्त्र भनिन्छ ।
  • ऐन, कानून, कार्यविधि तथा कार्यवातावरणलाई देखाएर कर्मचारीतन्त्रमा हुने ढिलासुस्ती वा सिघ्र कार्यसम्पादन नगर्ने प्रवृत्ति नै लालफित्ताशाही हो ।
  • आफूले सम्पादन गर्नुपर्ने काम नगर्ने, भोलिवादलाई प्रश्रय दिने, जिम्मेवारी पन्छाउने, सेवाग्राहीको माग र आवश्यकताप्रति उपेक्षा गर्ने, कर्तव्य र दायित्वभन्दा अधिकार र लाभ खोजिरहने जस्ता कर्मचारीतन्त्रमा रहेको नकारात्मक विशेषता नै लालफित्ताशाही हो ।

कर्मचारीतन्त्रमा रहेको लालफित्तासाही हटाउने उपायहरु  (कुलचन्द्र पराजुली)

कर्मचारीतन्त्र भित्रको नकारात्मक विशेषताको रुपमा रहेको लालफित्ताशाही प्रवृत्तिले कर्मचारीतन्त्रलाई सुस्त, अनुउत्तरदायी, असंवेदशील, अविवेकी र भोलिवादमा रमाउने बनाउँदै लगेको छ, यसले संगठन तथा समग्र देशको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न तथा राष्ट्रिय विकासमा समेत बाधा सिर्जना गरेको छ । यसको सुधार गर्नको लागि निम्न उपायहरुको अवलम्वन गर्नुपर्ने देखिन्छ :

  • कर्मचारीतन्त्रमा भएको ज्ञान, सीप, विज्ञता र व्यावसायिकतामा आधात्मिक ज्ञान समेत जोडी उनिहरुलाई सदाचारी र नैतिकवान बनाउने,
  • नागरिक वडापत्र, नागरिक मूल्याकंन कार्ड, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई लगायतका व्यवस्थापकीय औजारको प्रयोग गरी कर्मचारीतन्त्रलाई कामप्रति जिम्मेवार बनाउने,
  • कार्यसम्पादनमा आधारित तलब भत्ता (PBPS) र वृत्ति विकास प्रणालीको अवलम्वन गर्ने,
  • सेवाको बजारीकरण गरी सरकारी एकाधिकारको अन्त्य गर्ने,
  • सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र, स्थानीय तह, सहकारी लगायत बीचमा आपसी विश्वासका साथ साझेदारी निर्माण गर्ने र तिनिहरुबीचमा प्रतिस्पर्धाको भावना विकास गराउने,
  • नतिजाउन्मुख व्यवस्थापन गर्ने,
  • सार्वजनिक सेवा प्रवाहलाई खुला र पारदर्शी बनाउने,
  • कर्मचारीतन्त्रको सामाजिकीकरण गरी समाज र राज्यप्रतिको उत्तरदायित्व बहन गर्न सक्षम बनाउने,
  • समावेशी लोकतन्त्रका मूल्यमान्यतालाई कदरै गर्दै कर्मचारीतन्त्रभित्र प्रतिस्पर्धी भावनाको विकास गर्ने÷गराउने,     (कुलचन्द्र पराजुली)
  • कार्यसम्पादनको विधि, प्रक्रिया र मापदण्डलाई आधुनिकिकरण र स्तरीकरण गर्ने,
  • सेवा करार, व्यवस्थापन करार जस्ता माध्यमबाट सेवाको निजीकरण गर्ने,
  • अनलाईन प्रणाली वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, आदि ।

अन्तमा, कर्मचारीतन्त्रमा रहेको लालफित्ताशाही प्रवृत्तिको अन्तका लागि सार्वजनिक सेवालाई विद्युतिय शासनमा आवद्ध गराउँदै पारदर्शी, जवाफदेही, जनमुखी, नतिजाउन्मुख र प्रतिस्पर्धी बनाउनु जरुरी रहेको छ, जसका लागि तिनै तहका सरकार, निजी क्षेत्र, नागरिक तथा अन्य सरोकारवालाबीचमा सहकार्य, समन्वय र आपसी सहयोगको खाँचो रहेको छ ।


Comments

Popular posts from this blog

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा संचालन सम्बन्धी नीतिगत व्यवस्था र क्षेत्राधिकार